काठमाडौं, श्रावण १० । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ९ नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ निष्कासन गर्न लागेको हो। बैंक प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।
उक्त ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले बताएको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र कम्पनीले सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन ३२ गतेसम्म लम्बिनेछ।