काठमाडौं । मेलम्ची पानी रिङरोडभन्दा बाहिरका उपभोक्ताले उपभोग गर्न नपाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलालले बताएका छन् । मेलम्चीको पानी काठमाडौं ल्याइए पनि रिङरोडभित्रका उपभोक्ताले मात्र प्रयोग गरिरहेका छन् । त्यस्तै पानी जम्मा गर्ने ट्यांकी कपन, बाँसबारी, खुमलटार, भैंसेपाटीलगायत उपत्यकाका विभिन्न १० ठाउँमा बनाइएको छ ।
जहाँजहाँ पानी जम्मा गर्ने ट्यांकी बनाइएको छ, त्यहाँका स्थानीयले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन्, उनले भने, ‘त्यो पानी सबै रिङरोडभित्र नै ल्याउने गरिएको छ । यसले विभेद भएको जस्तो देखिएको उनको भनाइ छ । यसलाई रिङरोडभन्दा बाहिर विस्तार गर्न समस्या भएको उनले बताए ।अहिले पानी उपलब्ध भइरहेको रिङरोडबाट २ किमि नजिकका बस्तिलाई जोड्न २५ अर्ब रुपैयाँ खर्च लाग्ने देखिएको छ, तर देशको आर्थिक स्थितिले अहिले यस्तो गर्न सकिहाल्ने अवस्था छैन, उनले भने, कहीँ न कहीँ स्रोत खोज्नुपर्ने अवस्था छ ।
आगामी भदौअसोजभित्र एसियाली विकास बैंक एडीबी सँग ऋण सम्झौता गरेर दोस्रो काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनामार्फत् पेप्सीकोला, कलंकी, महाराजगन्जको गोल्फुटारलगायत क्षेत्रमा पानीको व्यवस्था गर्ने योजना रहेको उनको भनाइ छ ।