काठमाडौं, २३ असार । आर्थिक वर्षको अन्तिममा आउदा बैंक तथा वित्तीय संस्थाहरु आज शनिबार पनि सञ्चालनमा आएका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्था असार २३ आज र ३० गते शनिबारका दिन राजस्व संकलनका लागि सेवा जारी रहने भएको हो ।
आज राति ८ बजेसम्म बैंक खुला राखेर राजस्व संकलन कार्य गर्न निर्देशन दिएको हो । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले बन्द नगर्न निर्देशन दिएको थियो । बैंक तथा वित्तीय संस्थालाई सञ्चालन गर्न अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै भनेको छ, असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नुपर्नेछ ।