काठमाडौं, श्रावण २६ । नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । दुई वर्षअघि ११ अर्ब रहेको रहेको सञ्चित नाफा बढेर हाल ३६ अर्ब ६७ अर्ब पुगेको हो । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा ३७ अर्ब बढाएको छ । दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेको आम्दानी अहिले करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको नाफा आर्थिक वर्ष ०७७,७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८,७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष २०७९,८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ । प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ ।
साथै, प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बताएको छ । रेटिङ संस्था इक्राले गरेको क्रेडिट रेटिङबाट प्राधिकरणलाई डबल ए प्लस प्रदान गरेको बताएको छ । बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवम् अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाइको प्राधिकरणले बताएको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब बराबरको रकम प्रसारण एवम् वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको बताएको छ । कम्पनीका अनुसार सरकारको कोषमा साँवा, ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा भएको छ ।