काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले ३४ मुलुकसँग नाफामा र १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ८ महिनाको आयातनिर्यातको तथ्यांकले भारत, चीन, अर्जेन्टिना, युक्रेनलगायत मुलुकसँग घाटामा व्यापार गरेको देखाएको हो । अफगानिस्तान, डेनमार्क, रुस, अष्ट्रिया, लाटभियालगायत मुलुकसँग नाफामा व्यापार गरेको विभागको तथ्यांक छ ।
नेपालको भारतसँग ५ खर्ब ६३ अर्ब ६७ करोड ६१ लाख रुपैयाँले व्यापार घाटा छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८८ लाख रुपैयाँको वस्तु बेच्दा भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
चीनसँग २ खर्ब १७ अर्ब ६ करोड ३५ लाख रुपैयाँ, अर्जेन्टिनासँग ४६ अर्ब ४७ लाख, युक्रेनसँग १८ अर्ब ५५ करोड ४४ लाख रुपैयाँको व्यापार घाटा छ ।
अफगानिस्तानसँग ६५ करोड ७९ लाख, डेनमार्क १८ करोड ९० लाख, रुससँग २ करोड ५० लाख रुपैयाँले नेपालको व्यापार नाफामा रहेको विभागको तथ्यांक छ । नेपालले ६७ करोड ३८ लाख ८५ हजार रुपैयाँको वस्तु बिक्री गर्दा अफगानिस्तानबाट १ करोड ५९ लाख १९ हवारु रुपैयाँको मात्रै वस्तु आयात गरेको छ ।