Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालले बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत् निर्यात गर्ने तयारी


नेपालले बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत् निर्यात गर्ने तयारी

काठमाडौं । नेपालले बर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको बताएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालको  भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि भारतीय पक्षसँग छलफल भएको थियो ।

वार्तामा भारत सकारात्मक भएको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने भारतका प्रधानमन्त्री मोदीले नै बताए प्रधानमन्त्री दाहालले स्वदेश फिर्ता भएपछि बताउनु भएको थियो । यस्तै बङ्गलादेशमा बिजुली निर्यातका लागि भारतको बाटो प्रयोगको विषयमा पनि भारत सकारात्मक नै रहेको थियो ।

नेपालले बङ्गलादेशमा ४० देखि ५० मेगावाट विद्युत् निर्यात गर्नका लागि गृहकार्य भइरहेको प्रवक्ता भेटुवालले बताए । वर्षाको बिजुली बङ्गलादेश बेच्नका लागि त्रिपक्षीय बैठक सम्पन्न भएको तर औपचारिक घोषणा भने हुन बाँकी रहेको उनले बताए । तत्काल नेपालको क्षमता पनि धेरै नभएकाले थोरै मात्रामा भए पनि बिजुली बेच्नका लागि प्रक्रिया थालिएको हो ।

वर्षा याममा बढी भएको बिजुली बेच्न सकियो भने करिब २५ अर्ब रुपैयाँ नेपाललाई फाइदा पुग्ने मन्त्रालयले बताए । बङ्गलादेशमा विद्युत् व्यापारको लागि नेपालको विद्युत् प्राधिकरण, भारतको एनबिबिएन, बङ्गलादेशको बिबिटिबि तीन वटा निकायको बिचमा सम्झौता भएपछि मात्र विद्युत् व्यापारको औपचारिक प्रक्रिया पुरा हुने छ ।

हस्ताक्षरका लागि अहिले प्रसारण लाइनको क्षमता अनुसार तत्काल धेरै विद्युत् बेच्न सक्ने अवस्था नरहेको भेटुवालको भनाइ छ । नेपालले बङ्गलादेशलाई बिजुली बेच्नका लागि भारतको प्रसारण लाइनको प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि भारतको स्वीकृति आवश्यकता पर्छ । यसअघि नेपालले लिखु–४ बाट उत्पादित विद्युत् निर्यात गर्नका लागि प्रस्ताव पठाएको थियो । नेपालले हिउँदको समयमा भने विद्युत् आयात नै गर्नुपर्ने हुन्छ ।

तर, वर्षाको समयमा भने विद्युत् उत्पादन धेरै भएर खेर जाने अवस्था आउने गरेको छ ।नेपालको बिजुलीको कुल जडित क्षमता दुई हजार ४३० मेगावाट छ । उच्चतम माग सरदर एक हजार ६२८ मेगावाट रहेको छ । पहिलो चरणमा थोरै मात्रामा बिजुली निर्यात गर्न लागिएको भए पनि क्रमशः यसलाई बढाउँदै लैजान सकिने देखिएको भेटुवालले बताए ।