काठमाडौं, श्रावण १४। नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने दबाबमा परेको छ। चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युतको निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ।
मध्यकोटेकोसीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन्। मध्यभोटेकोसीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारणलाइनका टावरहरू निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ। कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताए।
श्रमिकको संख्या थप गरी निर्माणमा तीव्रता दिन निर्देशक दिँदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिक रूपमा सबस्टेसनस्थल आएर नियमित अनुगमन गर्ने बताए। पावर ट्रान्सफर्मरलगायतका सबस्टेसन राखिने उपकरणहरु निर्माणस्थलमा आइसकेका छन्, निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौँ, तीन महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नुपर्छ नत्र मध्यभोटेकोसीको विद्युत् खेर फाल्नुपर्ने पीडादायी अवस्था आउन सक्छ, त्यसैले यसलाई ध्यान दिएर सबैले काम गरौँ, उनले भने।
कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन्। सबस्टेसनमा २२०,१३२ केभी, १६० एमभिए र १३२,११ केभी, ५ एमभिएका पावर ट्रान्सफर्मरहरू छन्। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ।प्राधिकरणले मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ। तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ। २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत्र आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारणलाइनलाई डबल बनाउन लागिएको छ।
शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन।कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजारनजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर चार सर्किट (मल्टी सर्किट) प्रसारणलाइन बनाउनुपर्नेछ। तर, कम्पनीले अहिलेसम्म उक्त काम सुरु नै गरेको छैन। प्राधिकरणको उच्चस्तरीय टोलीले निर्माण काम तत्काल सुरु गर्न कम्पनीलाई आग्रह गरेको छ। प्राधिकरणले लामोसाँघु सबस्टेसनमा विस्तारको काम गरिरहेको छ।तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारणलाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारणलाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ। तामाकोसी–काठमाडौं २२०,४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारणलाइन निर्माणाधीन छ। त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारणलाइन पनि निर्माणाधीन छन्। लप्सीफेदीमा ४००,२२० र १३२,११ केभी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण प्रभावित भएको छ।