काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको ज्ञान, सीप र पुँजीलाई परिचालन गर्न उद्यमशीलतासँग जोडेर उत्पादन वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित श्रम तथा रोजगार सम्मेलनको अन्तिम संवादमा सहभागी हुँदै वक्ताहरूले विदेशबाट फर्केका श्रमिकलाई उद्यमशीलतासँग जोड्न वित्तीय क्षेत्रसँग सहज पहुँच बनाउनुपर्ने बताए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले विदेशमा बस्ने नेपालीले कमाएको ६५ खर्बमध्ये १४ अर्ब मात्रै नेपालमा आइरहेको बताए । दक्षिण एसिया ट्रेड युनियन क्षेत्रीय समितिका महासचिव लक्ष्मण बस्नेतले विदेशबाट फर्केका श्रमिकलाई वित्तीय साक्षरता कार्यक्रम ल्याउन जरुरी रहेको बताएका हुन ।
मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिृकत प्रधुम्न पोखरेलले बैंकिङ क्षेत्रले वित्तीय सेवा मात्रै नभई गैरबैंकिङ सेवा पनि दिन जरुरी रहेको बताए । ‘५ करोड ६० लाख जनाको डिपोजिट खाता छ । कर्जा खाता १९ लाख मात्रै छ । आन्तरिक रोजगारी वृद्धि, उत्पादकत्व बढाउने हो भने सबैभन्दा बढी कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ,’ उनले भने ।
श्रमविज्ञ गणेश गुरुङका अनुसार दैनिक ५ सय जना नेपाल फर्किरहेका छन् । ‘पुँजी, ज्ञान, राष्ट्रप्रतिको भावना र सीप बोकेर नेपाल आउने श्रमिकलाई आन्तरिक श्रम बजारमा स्थापित हुने योजना जरुरी छ,’ उनले भने,‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई न्यून जोखिम पठाई अधिकतम फाइदा लिन सक्नुपर्छ ।’