काठमाडौं । भरतपुरको चम्पानगरमा साइलेज उद्योग दुध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ ।
साइलेजलाई मेसिन साइलेज ब्यालरले नै प्लाष्टिकमा प्याकिङ गरिन्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो ।उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०,५० प्रतिशत लगानी छ । कूल ४२ लाख ३५ हजार लागतमा स्थापना भएको सो उद्योगको बुधबार भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन गरेका छन् ।
उनले साइलेज उद्योग स्थापनाले यस क्षेत्रका किसानले लाभ प्राप्त गर्ने बताएका छन् । गुणस्तरीय दुध उत्पादनसँगै गाई भैसी पनि स्वस्थ रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गरिने उहाँको भनाइ छ । सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने सहकारीका अध्यक्ष होमनाथ सुवेदीले बताए । महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता रहेकामा किसानलाई अब उद्योग स्थापनापश्चात् राहत पुग्ने उहाँले विश्वास व्यक्त गरेका छन् । यहाँका किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गरेका छन् ।