काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब साउन ३० गतेसम्म आवेदन दिन सकिने भएको छ।
यद्यपि, मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीले सोभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने जनाएको छ। त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ भने आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता शेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले प्रबर्धन गरिरहेको ९।५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ।