रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियमविपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले बन्द गर्न निर्देशन दिएका छन् ।
चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका हुन् । उनी अनुगमनमा आएको सइँको पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए ।
चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल दर्ता र मापदण्डविपरीत चलाइएको पाएकाले बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनी अनुगमनमा आउँदा पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर तानेर भागेका थिए ।
मुख्यमन्त्री सिंहले चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालन गरेको र आईसीयू, एमर्जेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको बताए ।