काठमाडौं,४ असार । सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।
राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो । साझा तिबद्धतासहित सोमबार ३ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुँदै छ । आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ । मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ ।
शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय घोषणा गर्न लागिएको छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । समाजवादी मोर्चाको प्रमुख उद्देश्य संघीयता, लोकतान्त्रिक व्यवस्था, सुशासन, आर्थिक समृद्धि रहेको बताइएको छ । मोर्चाले अर्थतन्त्र, रोजगारी, आत्मनिर्भरताका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भनेको छ ।
स्वास्थ्य, शिक्षालगायतका विषयलाई राज्यले सञ्चालन गर्नुपर्ने उद्देश्य राखिने नीति लिने भनिएको छ । संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहहरूको क्षेत्राधिकार स्पष्ट पार्ने र समन्वयमा काम गर्ने नीतिमा भनिएको छ । संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति लिने भनिएको छ । यसका अलावा सामाजिक र सांस्कृतिक क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने नीतिगत प्रतिबद्धता घोषणा सभामा प्रस्तुत गरिने भएको छ ।