Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले भारतबाट धान र चामल आयात गर्ने तयारी


सरकारले भारतबाट धान र चामल आयात गर्ने तयारी

काठमाडौं, श्रावण २१ । नेपाल सरकारले भारतबाट धान र चामल आयात गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले बताएको छ । मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले धान र चामल ल्याउने विषयमा छलफल भएको र कति परिणाममा ल्याउने भनेर निर्णय भइनसकेको बताए ।

बजारमा खाद्यान्न अभाव नभएको र आगामी दिनमा हुने सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै धान र चामल ल्याएर राख्ने हो कि भनी छलफल भएको उनले बताए । भारतले चामल निर्यातमा रोक लगाएपछि हालै मुख्य सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो । सो बैठकले नै धान र चामलको सम्भावित अभावलाई मध्यनजर गर्दै त्यसको तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय धान र चामल ल्याउने तयारीमा जुटेको हो । नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुमुदकुमार दुगडले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान आयात गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको बताए । भारतले धान मूल्य बढेकाले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा बजारमा चामलमा सामान्य मूल्य बढ्न गएको उनले बताए । कच्चा पदार्थको मूल्य नै बढेकाले चामलको मूल्य प्रतिबोरामा ५० देखि ७० रुपैयाँसम्म मूल्य बढ्न गएको उनले बताए ।

बजारमा खाद्यान्नको अभाव नभएको र आगामी दिनमा हुन सक्ने अभावलाई रोक्न धान र चामल आयात गर्न माग गरिएको उनले बताए । तर भारतसँगको वार्षिक छ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुन सक्ने उनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले मौज्दात चामलमा मूल्य बढाएर उपभोक्ता ठगेको आरोप लगाए ।

नेपालमा आवश्यक धान र चामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको सङ्घले बताएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आव २०७९,८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपैयाँको चामल आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँको चामल आयात भएको थियो ।