काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजबाट प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । इन्स्योरेन्सको शेयरमा लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।