काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ । नौ सय आठ जना घाइते भएका छन् । देशका सबैजसो क्षेत्र चट्याङको जोखिममा छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताए ।
उनका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् । एक हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् ।
विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्ने श्रेष्ठले बताए । विशेषगरी घरगोठ र अग्ला रुख तथा टावरमा चट्याङ पर्छ । बर्खामा किसान चट्याङबाट बढी प्रभावित हुने गरेका छन् ।
चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा धेरै रहेको प्राधिकरणका सहसचिव श्रेष्ठले जानकारी दिए ।
विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको ज्यान गएको र ८४ जना घाइते भएका उनले जानकारी दिए । त्यस्तै कोशीमा तीन सय ६६ घर प्रभावित बनेका छन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको ज्यान गएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।
लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित भएका छन् । सहसचिव श्रेष्ठका अनुसार सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन् ।
नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।
सहप्राध्यापक सिग्देलका अनुसार अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गए ।
चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए । सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाइएको पनि उनले जानकारी दिए ।
खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईवस्तु चराउनेलगायतका काम बिहान अर्थात् मध्यान्ह अगाडि नै गरिसक्ने र मेघगर्जनका बेला खुला ठाउँमा नजाने हो भने मानवीय क्षति न्यूनीकरण हुने उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार बिग्रिएर थन्किएका छन् ।
ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घन्टादेखि एक घन्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिए । राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने ठाउँको विश्लेषण गर्ने उनले बताए ।
घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उनले बताए । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्याउनुपर्नेमा उनले जोड दिए ।