काठमाडौं । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली आज आफ्नो प्रस्तुति दिने भएका छन् । ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी बिहीबार नेपाल आएका हुन् ।
साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका हुन् । आयोजकले उनलाई काठमाडौँको एउटा तारे होटलमा राखेको छ ।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानले बताए । मोक्तानका अनुसार कार्यक्रममा अर्काे आकर्षक प्रस्तुति गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि दिनेछन् ।
गुलाम अली पाकिस्तानी चर्चित गजल तथा पाश्र्वगायक हुन् । उनी गायक बडे गुलाम अली खान र छोटे गुलाम अली खानका चेला हुन् । उनी गजल गायकको रूपमा प्रख्यात छन् ।
पाकिस्तानको अलावा भारत, नेपाल, बङ्गलादेश, अमेरिका, बेलायत र मध्यपूर्वी एसियामा समेत उनी चर्चित छन् । उनका थुप्रै गजल बलिउड फिल्ममा समेत समेटिएको छ ।