एजेन्सी । अस्ट्रेलियाले धातु उद्योगलाई कम उत्सर्जन प्रविधिको विकास गर्न र निर्यात बढाउन ७५ करोड अस्ट्रेलियाली डलर (४७ करोड अमेरिकी डलर) खर्च गर्ने भएको छ ।
यो योजनाले विदेशी ढुवानीमा वार्षिक १५० अर्ब अस्ट्रेलियन डलरभन्दा बढी हिस्सा ओगटेको देशको एल्युमिना, आल्मुनियम, फलाम र स्टिल क्षेत्रलाई बलियो बनाउने लक्ष्य राखेको छ । यो रकम गत वर्षको बजेटमा घोषणा गरिएको ‘फ्युचर मेड इन अस्ट्रेलिया’ औद्योगिक नीतिको एक हिस्सा हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निकट सहयोगी अस्ट्रेलियालाई स्टिल र आल्मुनियमको करबाट छुट नदिने घोषणा गरेको केही दिनपछि यो घोषणा आएको हो ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले सरकारले अस्ट्रेलियाली धातु उत्पादन उद्योगलाई बलियो बनाउने लक्ष्य राखेको बताउँदै अमेरिकी करलाई ‘आर्थिक आत्म–हानिको कार्य’ को रूपमा वर्णन गरेका छन् । क्यानबेराले अमेरिकाले लामो समयदेखि अस्ट्रेलियासँगको व्यापारमा अतिरिक्त लाभ उठाएको र राम्रो आर्थिक सम्बन्धबाट फाइदा उठाएको तर्क जारी राख्ने उनले बताए ।