काठमाडौं, श्रावण ११ । नेपालीको सुन मोह निकै उच्च गति भएको छ । पछिल्लो १० वर्षको अवधिमै नेपालमा २ खर्ब बढीको सुन भित्रिएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार १० वर्षमा २ खर्ब ३० अर्ब ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।आर्थिक वर्ष २०७०र७१ वर्षदेखि गत आर्थिक वर्ष २०७९,८० सम्म आईपुग्दा सो रकम बराबरको सुन आयात भएको विभागले बताएको छ ।
१० वर्षमा ४५ हजार ७७९ केजी सुन नेपाल भित्रिएको छ । यो नेपालमा वैधानिक रुपमा आयात भएको सुनको तथ्याङ्क हो । तर, अवैध रुपमा भित्रने सयौं केजी सुनको भने तथ्याङ्क छैन । उत्तरी नाकाबाट सयौं किलो सुन अवैध रुपमा भित्रने र स्वरुप परिवर्तन गरि बाहिर जाने गरेको पनि बताइन्छ । यद्यपि, पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ठुलो परिमाणमा सुन बरामद गरेको छ । कार्यालयले एक क्विन्टल बढी सुन बरामद गरेको हो ।
अवैध रुपमा सुन भित्र्याउने योजनाकारको अझै पत्तो नलागे पनि विभागको घटना छानविन र खोजी कार्य जारी नै छ ।तर, भन्सार विभागको वैधानिक तथ्याङ अनुसार भने नेपालमा वार्षिक नेपाली औसतमा २३ अर्ब ३ करोड ५६ लाख रुपैयाँ बराबरको सुन खरिद गरेका छन् । सुन आयातमा वर्षेनी सो बराबरको रकम बाहिरिने गरेको हो । विलासी अनुत्पादक साधन सुन नै नेपालीको मोह उच्च देखिएको हो । हाल नेपालमा युएई, टर्की, स्वीटजरल्याण्ड लगायतका देशबाट सुन आयात हुने गरेको छ ।
नेपालमा आयात हुने सुनको ९० प्रतिशतभन्दा बढी हिस्सा युएईको छ ।विभागका तथ्याङ्क अनुसार गत आवमा कुल २ हजार ९१६ केजी सुन आयात भएको छ । गत आवको असार मसान्तसम्ममा २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । विलासीता वस्तुको आयात नै उच्च मात्रामा हुने गरेको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने गत आवमा सुन आयात घटेको देखिएको छ ।
विशेषगरि सरकारले सुन आयातमा कोटा तोकेपछि गत आवमा सुन आयात घटेको हो । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न दिएको छ । यसअघि २० केजी सुन दैनिक रुपमा आयात हुँदै आएको थियो । अघिल्लो आवको तुलनामा गत असार मसान्तसम्ममा १३ अर्ब २६ करोड ४९ लाख रुपैयाँले कमी हो ।
अघिल्लो आवमा ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ बराबरको ५ हजार ५३ केजी सुन आयात भएको विभागले बताएको छ । जुन पछिल्लो १० वर्ष यताकै उच्च आयात हो । सो आवमा सुन आयातबाट सरकारले ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ बढी राजश्व संकलन गरेको थियो ।