काठमाडौं, २० असार । इन्टरनेट सुविधा उपलब्ध नहुने टु जी फिचर फोन प्रयोगकर्ताको संख्या भारतमा अझै पनि २५ करोडभन्दा धेरै रहेको भन्दै रिलायन्स जियोले यो जनसंख्याका लागि फोर जी चल्ने सस्ता फोन सार्वजनिक गरेको छ । यसै साता १० लाख प्रयोगकर्तामाझ जियोले ९ सय ९९ भारतीय रुपैयाँ मूल्यका भारत फोन को परीक्षण गर्ने बताएको छ ।
परीक्षण अवधिमा जियोले १ सय २३ भारुमा एक महिनाका लागि १४ जीबी डेटासहित असीमित संख्यामा कल गर्न मिल्ने सुविधा पनि उपलब्ध गराउने भनेको छ । अन्य प्रतिश्पर्धीहरूले फिचर फोन प्रयोगकर्तालाई दिनेभन्दा सात गुणा बढी डेटा र ३० प्रतिशत सस्तो मूल्यमा आफूहरूले सेवा उपलब्ध गराएको कम्पनीको दाबी छ । भारतको प्रविधि उद्योगबारे जानकार निल शाहका अनुसार जियोले टूजी फिचर फोन प्रयोगकर्ताको हातमा फोर जी चल्ने फोन पुर्याएर डिजिटल डिभाइड कम गर्न भूमिका खेलिरहेको छ ।
अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीज अन्तर्गतको रिलायन्स जियो इन्फोकमले जुलाइ ७ यही शुक्रबार बाट ६ हजार ५ सय गाउँमा जियो भारत फोनको बेटा ट्रायल गर्न लागेको हो । सोमबार भारत फोन उद्घाटन समारोहमा रिलायन्स जियोका अध्यक्ष आकाश अम्बानीले विश्व फाइभ जी क्रान्तिको शिखरमा उभिएका बेला भारतका २५ करोड प्रयोगकर्ता भने टूजी युगमा कैद भएको बताएका ।