काठमाडौं । नेपाल—भारतबीच प्रतिनिधिमण्डलस्तरीय आज पहिलो चरणको वार्ता भएको छ । सो वार्तामा नेपाल र भारतबीच सात सम्झौता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा हुने सहमति र सम्झौताबारे भारतीय पक्ष र नेपाली पक्षबीच बिहीबार भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा वार्ता सुरु भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलगत्तै सुरु भएको उक्त वार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची समेत रहेको छ ।
प्रधानमन्त्री दाहाल सहित परराष्ट्रमन्त्री एमपी साउदलगायत पाँच मन्त्रीहरू सहभागी भएको सो वार्तामा नेपाल र भारतबीच निम्न ७ बुँदाहरुमा सम्झौता भएका छन् ।
१. नेपाल–भारत पारवहन सम्झौता नवीकरण ।
२. सीमापार पेट्रोलियम पाइपलाइन विस्तार ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबीच सहकार्य ।
४. दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माण ।
५. तल्लो अरुणको पीडीए गर्ने ।
६. भारतीय कम्पनिद्वारा फुकोट कर्णाली आयोजना निर्माण गर्ने ।
७. डिजिटल पेमेण्ट सम्झौता ।
प्रधानमन्त्रीस्तरीय छलफलपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।