काठमाडौं । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने विद्यालयहरुलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए कानुन बमोजिम कारबाही गर्ने बताए । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो ।
साथै छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति एवं स्वीकृति समेत रद्द गर्ने चेतावनी दिएको छ । महानगरले जारी गरेको सूचनामा भनिएको छ, महानगरले छावृत्ति उपलब्ध गराएको विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
महानगरले छात्रवृत्ति उपलब्ध नगराउने ३४२ विद्यालयको सूची समेत प्रकाशित गरेको छ ।