काठमाडौं, २ साउन । अक्सिजन अभावले जहाज मलेसियामा ग्राउन्डेड भएको घटनाको सत्यतथ्य अनुसन्धान गर्न नेपाल वायुसेवा निगमले उपसमिति गठन गरेको छ । निगमले चालक दलका लागि ककपिटमा रहने सिलिन्डरमा अक्सिजनको मात्रा घटेको विषयमा छानबिन गर्न निर्देशक महेश मारिताको संयोजकत्वमा मंगलबार छानबिन उपसमिति गठन गरेको हो । एक साताभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन समितिलाई म्याद दिइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
अर्का निर्देशक पोषक ज्ञवाली सदस्य रहेको समितिले अक्सिजन बोतलको प्रेसर किन, कसरी घट्यो भन्ने अनुसन्धान गरी भविष्यमा यस्तै प्रकृतिका घटना हुन नदिन सिफारिस गर्नुपर्ने छ । उपसमितिलाई ‘मूल कारण विरुद्ध सुधारात्मक कारबाही सिफारिस गर्ने र यस घटनाको लागि जानाजानी कारबाही भएको खण्डमा जिम्मेवार व्यक्तिलाई सजायको कारबाही सिफारिस गर्नुपर्ने,’ कार्यादेश तोकिएको छ ।
जहाजमा चालक दलका लागि आवश्यक अक्सिजनको मात्रा अत्याधिक न्यून देखिएपछि मंगलबार बिहान नेपाली समयअनुसार ३ बजे काठमाडौंका लागि उड्नुपर्ने निगमको न्यारोबडी क्वालालम्पुरमै रोकिएको थियो । उडानमा रहेका एक कर्मचारीका अनुसार, त्यहाँको स्टेशनले एयर एसियासँग अक्सिजन मागेर प्रबन्ध गरेपछि न्यारोबडी १ सय ५२ यात्रु बोकेर झन्डै ११ घन्टा ढिलो गरी दिउँसो साढे १ बजे मलेसियाबाट उडेको छ । त्यो विमान भैरहवामा अवतरण गरेर साँझ ७ बजे काठमाडौं अवतरण हुने तालिका छ ।