कैलाली, २८ जेठ । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै जारी आन्दोलनका क्रममा आइतबार बिहानैदेखि सुदूरपश्चिमको सार्वजनिक क्षेत्र ठप्प प्रायः भएको छ ।
कैलाली प्रहरीका अनुसार लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु चलेका छैनन्, उद्योग तथा कल कारखाना, व्यापार व्यवसाय बन्द छन् । साढे पाँच अर्ब लागतमा गेटामा भवन पूर्वाधारहरु निर्माण भएका छन् । तर सरकारले सञ्चालनको प्रारुप तयार नगर्दा मेडिकल कलेज, प्रतिष्ठान या स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुने भन्ने अन्योल छ । यस क्षेत्रका बासिन्दाहरु भने स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आएका छन् ।
नागरिक तहको माग र यस क्षेत्रका पूर्व एव वर्तमान जनप्रतिनिधिहरुको सामूहिक दबाबपछि गत माघ २९ गते सरकारले गेटालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो । तर बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय श्य्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।
हाल यहाँ सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति गठन गरेर चरणवद्ध आन्दोलन सुरु भएको छ । त्यसै क्रममा आइतबार सुदूरपश्चिम बन्द गरिएको संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले बताए । सञ्चालनको टुंगो नहुँदा निर्माणसम्पन्न भएका अत्याधुनिक भवनहरु अलपत्र पर्ने अवस्था रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।