काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकामा होक्सेमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण गरिने भएको छ। दक्षिण एसियाली महिला विकास मञ्च र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँचखाल नगरपालिकासँगको सहकार्यमा पीपीपी मोडेल मा औद्योगिक पार्क बनाउने भएको हो। उक्त पार्क दक्षिण एसियामै द्रोस्रो ठूलो औद्योगिक पार्क हुने बताएका छन्।
जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले नेपाल सरकारको औद्योगिक ग्रामअन्तर्गत काभ्रेको पाँचखालमा महिला औद्योगिक ग्रामको रूपमा निर्माण गरिने भएको दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले बताइन्। महिला उद्यमी र हरित अर्थतन्त्रका लागि औद्योगिक पार्क स्थापना गर्न अत्यन्त आवश्यक रहेको उनले जनाइन्। अन्य ६ वटै प्रदेशमा पनि यस्तै पार्क स्थापनाका लागि महिला उद्यमी हरित औद्योगिक पार्क ऐनको रुपमा कानुन बनाउन अध्यक्ष रिजालले नेपाल सरकारलाई आग्रह गरिन्।
उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा केन्द्रित हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिकाको महत्वलाई जोड दिइन्। महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण गर्दै पार्क प्रदूषणमुक्त, फोहोरमैला व्यवस्थापन र फोहोर पानीको पुनः प्रयोग, ऊर्जा संरक्षणका लागि साझा योजना, स्थानीय रुपमा उपलब्ध सामग्रीहरू प्रयोग गरी भवनः र्याम्ड अर्थ टेक्नोलोजी र साझा सेवा केन्द्रहरू जस्ता सुविधाको बारेमा प्रष्ट्याइन्।
नेपालको हरित औद्योगिक अवधारणालई एकीकृत जलवायु परिवर्तन अनुकूलन रणनीतिमार्फत अगाडि बढाउने लक्ष्यका साथ पार्कलाई ‘कृषि पर्यटन हरित औद्योगिक पार्क’ को रूपमा प्रचार गरिने पनि उनले बताइन्। यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो रहेको जानकारी दिँदै उनले यसमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० साना उद्योग स्थापना गरिने सुनाइन्।
मेयर खरेलले यस परियोजनाका फाइदाका विषयमा बताउँदै किसानको उत्पादकत्व वृद्धि, उच्च गुणस्तरको प्रशोधन पूर्वाधारको निर्माण, प्रभावकारी आपूर्ति श्रृंखला प्रणाली, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजनालगायतका विषयमा प्रष्ट पारे। मञ्चकी बरिष्ठ उपाध्यक्ष तथा बाग्मती प्रदेशकी सांसद यांकिला शेर्पाले नेपालको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले पार्क निर्माणको क्रममा आफूले सांसदका रूपमा सरकारसँग लबिङ गर्ने बताइन्। त्यसैगरि मञ्चकी उपाध्यक्ष शान्ता बास्कोटाले पार्कको स्थापनाले त्यहाँका स्थानीय कारखानालाई प्रवद्र्धन गर्ने बताइन्।