Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ताप्लेजुङमा बाढीः चार जना बेपत्ता


ताप्लेजुङमा बाढीः चार जना बेपत्ता

काठमाडौं, ३ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाका अनुसार यादव बुढाक्षेत्रीको तीन जनाको परिवार र छिमेकी गणेश तामाङ सम्पर्कविहीन भएका हुन । यादव काम विशेषले पेदाङ गएका थिए । घरमा उनको आमा श्रीमती र छोरी रहेको जनाइएको  छ । दुई खोलाको बीचमा घर भएका गणेशले पानी पर्न थालेपछि बाबुआमालाई खोलो तारेर सुरक्षित ठाउँमा पठाएका थिए । तर उनी भने सम्पर्कमा नभएको स्थानीय दिवस भण्डारीले जानकारी दिए ।

वडा नम्बर–३ आङखोपमा प्रेम सेलिङलगायतको तीनवटा घर बगाएको खबर भए पनि क्षतिको विवरण नआइसकेको उपाध्यक्ष कडरियाले बताइन् । ताप्लेजुङबाट बाहिर जिल्ला जाने सडक अवरुद्ध भएकाले लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पाँचथरको हेवाखोलाको पुल र माझीटारको पुल बगाएकोले पाँचथर, इलाम, झापा जाने यातायातका साधन चलेका छैनन् ।

दोभान बजारछेउको सडकसमेत मेवाखोलाले बगाएकोले जिल्लाभित्र पनि यातायात चल्न कठिन भएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । बुधबार बेलुकादेखिको वर्षा र कावेली नदीमा आएको बाढीका कारण सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका पाँच सरकारी कार्यालयसहित १५ परिवार विस्थापित भएका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार तारामान गुरुङ, सोमबहादुर राई, मनकुमार राई र सुनिल राईको परिवार विस्थापित भएका हुन् । यस्तै खड्ग गुरुङ, अशोक गुरुङ, तार्सीदप गुरुङ, रामकुमार राई, ज्ञानुमाया राई, मणिकुमार राई, पृथ्वीबहादुर गुरुङ र कर्णबहादुर गुरुङको परिवार पनि विस्थापित भएका छन् ।