Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्लोबल आईएमई एआई—एमएल ह्याकाथन आयोजना हुने


ग्लोबल आईएमई एआई—एमएल ह्याकाथन आयोजना हुने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलो पटक कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) र मेशिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधान खोज्नसमेत सहयोग पुग्नेछ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ । ग्लोबल आईएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको छ । डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नवीनतम धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्ने छ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । पहिलो चरणका लागि प्रतियोगीहरूले आउँदाे अप्रिल ४ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्ने छ । साथै दोस्रो चरणअन्तर्गत आउँदाे मे १ मा अनसाइट ह्याकाथन हुनेछ ।

ग्लाेबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र छन् ।

बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।