काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरूको राष्ट्रिय भेलाका सहभागीहरूले रुग्ण ठेक्का सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन् । शनिबार राति अबेरसम्म चलेको भेलामा सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायत विषयमा देशभरका निर्माण व्यवसायीको सुझाव संकलन गरिएको थियो ।
भेलामा ७ प्रदेश महासंघ, ६४ जिल्ला तथा एसोसिएट गरी ४ सयभन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग ठूलो सकसमा रहेको बताए ।