काठमाडौं, साउन ९ । आर्थिक वर्ष २०७९,०८० मा ११ अर्ब ५० करोड बराबरको गलैंचा निर्यात हुँदा अमेरिकामा मात्रै आधाभन्दा धेरै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ ।
गत वर्षभर ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको विभागलेबताएको छ । जसमध्ये अमेरिकामा २ लाख ४६ हजार ८४५ स्क्वायर मिटर गलैंचा निर्यात भएको छ । जर्मनमा ८८ करोड ७० लाख २२ हजार बराबरको ३३ हजार ७३४ स्क्वायर मिटर गलैंचा निर्यात भएको हो । युकेमा ७८ करोड ७५ लाख ७६ हजार बराबरको २२ हजार ७०४ स्क्वायर मिटर गलैंचा निर्यात भएको छ ।
इटालीमा ६१ करोड ४६ लाख ६२ हजार बराबरको २६ हजार ७६५ स्क्वायर मिटर निर्यात भएको छ । आर्थिक वर्ष २०७८,०७९ मा ९ अर्ब ५६ करोड ७७ लाख बराबरको गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष २०७७,०७८ मा ७ अर्ब २४ करोड ४० लाख को निर्यात हुँदा आर्थिक वर्ष ०७६,०७७ मा ६ अर्ब १५ करोड ७७ लाख बराबरको निर्यात भएको थियो । आर्थिक वर्ष २०७५,७६ मा ७ अर्ब ३६ करोड ८७ लाख बराबरको गलैंचा निर्यात भएको थियो ।