काठमाडौं । केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बैंकका अनुसार आज ७ दिनका लागि रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्न खोजिएको हो ।बैंक तथा वित्तीय संस्थामा ३ खर्ब भन्दा बढी लगानी योग्य पुँजी तरलता थुप्रिएपछि बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न लागेको हो ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा सापटी दिन्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्ने गर्छ । पछिल्लो पटक केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ प्रशोचन गर्दै गर्दा बजारमा तरलता थुप्रिएको सहजै अनुमान गर्न सकिन्छ ।
यसो त तरलता सहज भएसँगै यता अन्तर बैंकदर समेत घटेर ४.०१ प्रतिशतमा झरेको छ । मौद्रिक नीतिको समीक्षाले बैंक दर ७ प्रतिशतमा झारेसँगै अन्तरबैंक ब्याजदर समेत ४ प्रतिशत हारहारी आइपुगेको छ । त्यसपछि बैंकले रिफर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन शुरु गरेको हो ।
राष्ट्र बैंककाअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब ६७ अर्ब भन्दा बढी निक्षेप जम्मा हुँदा ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी हुन सकेको छ ।