काठमाडौं । बजेट संशोधन नभए बजेट पास हुन नदिने जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष राउतले बजेटमा सांसदका मागहरू सम्बोधन हुनेगरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरूले नै बजेट पास हुन दिन नहुने बताएका हुन् । पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने उनको माग छ ।
सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वयन नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उनको भनाइ छ । उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरू आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे । समितिले सुझावसहित बजेट संशोधनको प्रश्ताव लैजानुपर्छ । कार्यान्वयन होला नहोला छुट्टै कुरा छ ।
कार्यदल भनेको छ त्यसले बजेट संशोधन आवश्यक छ भन्नेकुरा लिएर जानुपर्छ । मन्त्रीपद सदावहार शासक होइन । मन्त्री बन्दैमा अंहकार देखाउनुपर्छ भन्ने पनि होइन । एक जनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरु किन आवश्यक पर्ने थियो उनले भने । बजेटको प्रादेशिक रूप विनियोजन पनि व्यवहारिक नभएको अध्यक्ष राउतको गुनासो छ । उनले भने, मधेश प्रदेशभन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको छ ।
सूदुरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेश प्रदेशको ६१ लाख रहेको छ । जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ । त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ ।