Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शक्तिसँग जस्तोसुकै मुकाविला गर्न तयारः प्रधानमन्त्री केपी शर्मा ओली


शक्तिसँग जस्तोसुकै मुकाविला गर्न तयारः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आकलन नै नगरेको भए देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए ।

हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छन । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,प्रधानमन्त्री ओलीले भने, स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्सजस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे । प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन् ।

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरुले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे । विपक्षीहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे आ–आफ्नो धारणा राखे ।