२६ असार, काठमाडौं । सम्पर्क विहिन भएको मनाङ एयरको नाइनएनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको छ । मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। पाइलट चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा पाँचै जना यात्रुहरू मेक्सिकन नागरिक थिए।
पाइलट सहित ६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको डिआइजी बास्तोलाले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’
घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ। उनी मोटरसाइकलमा घटनास्थलमा पुगेका हुन्। शव संकलन गर्ने काम भइरहेको उनले बताए।
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।
हेलिकप्टर दुर्घटनाको कारण भने खुलेको छैन । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।