काठमाडौं । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दर बढाएको हो। हालसम्म प्रतिउडान ८ हजार ५ सय रुपैयाँ शुल्क तिर्दै आएकामा अब देखि प्रति उडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समय अनुसार रकम बढाएको उनी बताउँछन्। पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए। बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको छ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताएका छन् ।
उनले भने पहिला ३ हजार ९ सय पाउँथे। नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन्। तीमध्ये ५२ चालू अवस्थामा रहेको अध्यक्ष भट्टराईले बताए। सबै कम्पनीमा गरी ३ सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन्। हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए।