काठमाडौं । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३ सय २३ कम्पनीका २ करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता सेयर ७९ हजार २ सय ३६ पटक खरिदबिक्री हुँदा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक समूह ० दशमलव ३३ र लघुवित्त समूह ० दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह १ दशमलव ७६ र अन्य समूह १ दशमलव ५७ प्रतिशतले बढेको छ ।
बैंकिङ ० दशमलव ५३, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन ० दशमलव ६४, जलविद्युत् ० दशमलव ८५, जीवन बीमा ० दशमलव ६४, उत्पादन तथा प्रशोधन ० दशमलव १८, म्युचुअल फन्ड ० दशमलव १०, निर्जीवन बीमा ० दशमलव ४० र व्यापार समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार १ सय बराबरको ८१ लाख ३६ हजार ५ सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।