काठमाडौं । चन्द्रागिरी, मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई विशेष छुट दिने भएको छ ।
आइएमई ग्रुपद्वारा सञ्चालित केबलकार कम्पनीहरुमा सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएको हो ।
बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केबलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका छन् । सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केबलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्र्तगत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।