काठमाडौं, १४ असार । नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम “कमेडी क्लब विथ् च्याम्पियनस्” मा नेपालको लोकसंगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षितगरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै गन्धर्व साँस्कृति कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ । कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुदाँ उक्त दृष्यमा माथि हाम्रो आपत्ती छ, विज्ञप्तीमा भनिएको छ ।
संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसंग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अपहेलनाका दृष्टीले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्मसम्मान र प्रतिष्ठामाथि नै आघात पुर्याएले तत्काल उक्त पात्रसंग जोडिएका श्रृंखलाहरु हटाउन र सार्वजनिकरुपमा माफी माग्न सम्बन्धीत निकायलाई आग्रह गरे । उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनि उक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदायसंग जोडिएको कला, संस्कृति र बाजालाई अपहेलनाका दृष्टीले प्रस्तुत गर्दै आइरहेको भन्दै आपत्ती जनाए ।
नेपाली कला, संस्कृतिको पहिचान बोकेको गन्धर्व समुदायले आमसञ्चारको विकास अघिदेखि गीत संगीतको माध्ययबाट सुचनाको आदनप्रदानमा सहयात्री बन्दै आइरहेका छन् । “गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन्, हामीले देशको लोकसंस्कृतिमा दिएको योगदान आजपनि उत्तिकै सान्र्दभिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्ययमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृष्य तत्काल हटाउनु पर्छ,” विज्ञप्तीमा भनिएको छ । संस्थाका महासचिव गन्धर्वले, गन्धर्व समुदायको मौलिक बाजा सारङ्गी एउटा बाद्य यन्त्रमात्रै नभइ, राष्ट्रको पहिचान, जीवन, एकताको प्रतीक र इतिहास भएको बताउछन् ।
गन्धर्व समुदायले देशका विभिन्न कालखण्डमा भएका सामाजिक एवम् राजनीतिक आन्दोलनमा पुर्याएको अमुल्य योगदानको स्मरण गर्दै यस्ता सस्तो लोकप्रियताका लागि प्रस्तुत गरिने पात्र र कार्यक्रमले सिंगो समुदायलाई आघात पुर्याएको महासचिव गन्धर्वले बताए । उनले उक्त कार्यक्रममा समावेश भएको गन्धर्व पात्र तत्काल हटाउन र सारङ्गीलाई मर्यादितरुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । उनले सो कार्यक्रमबाट गन्धर्व पात्रसंग सम्बन्धीत सम्पुर्ण दृष्यहरु नहटाईए कानुनी कारबाहीकालागि अघि बढ्ने चेतावनी समेत दिएका छन् ।