काठमाडौं । नेपाल—जापान फ्रेन्डसिप समिट—२०२५ का लागि आएका जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटमा मन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए ।
उनले नेपाल-जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
विदेशी लगानीकर्ताका लागि जलविद्युत्, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको आकर्षक क्षेत्र रहेकाले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न उनले अनुरोध गरे ।
सरकारले निजी क्षेत्रका सरोकारलाई सम्बोधन गरी विभिन्न कानुन अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको मन्त्री पौडेलले जानकारी गराए । समिट आजबाट काठमाडौंमा सुरु भएको छ ।