काठमाडौं,१३ असार । सत्तारुढ गठबन्धनको सरकारले सार्वजनिक गरेको बजेटमा सत्तारुढ बाटै विरोध भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा आफ्नो धारणा राख्ने भएका छन् । मन्त्रालयगत बजेटमाथिको छलफल सकिएकाले मन्त्रीहरुबाटै जवाफ नआएपछि आज प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी भएको हो ।
प्रधानमन्त्रीको सम्बोधन पछि आज बजेट संसदबाट पास गराउने तयारी सत्तारुढ दलको छ । तर, सत्तारुढमापनि एकिकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले असहमति जनाएका छन् । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक ११ बजे बोलाइएको छ ।
बुधवारको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन बजेट विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।
मङ्गलवारको बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।