काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको छठौं दिन आज सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरुले आफ्नो धारणा राख्ने भएका छन् ।
मंगलबारबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य तथा सहमहामन्त्रीहरुले बोल्ने क्रम सकिएसँगै आज पदाधिकारीहरु मध्ये शीर्ष नेताहरुले बोल्ने कार्यक्रम रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।
ललितपुर स्थीत पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ्ग, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोल्नु हुने छ ।
केन्द्रीय कार्यसमितिमा उठेका प्रश्नहरु र समसामयिक विषयमा सभापति देउवाले जवाफ दिनुहुने प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा पार्टी विधानत नचलेको, नेतृत्वले एकलौटी निर्णय गर्ने गरेको, गठबन्धनको सरकार, सत्तारुढ दलमै मोर्चाबन्दी, पार्टीका सांगठनिक संरचना, भ्रातृ तथा शुभेच्छुक संस्थाको पुर्णता, सदस्यता वितरण तथा पार्टी रणनीतिका विषयमा नेताहरुले नेतृत्वको ध्यानाषर्कण गराउँदै आएका छन् ।
६ दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले नेतृत्वको बचाउ गर्दा संस्थापन इतरपक्षले विधानत अघि बढ्न सुझाएका छन् । बैठकमा नेताहरुले बोल्नक्रम सकिएपछि निर्णय लेखनकालागि बैठक एक दिन स्थगित हुने र बुधबार पुनः केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी भएको विश्वकर्माको जानकारी दिनुभयो ।
बैठकमा पदाधिकारी तथा पुर्वपदाधिकारीको बैठकले पारित गरेका १० वटा एजेण्डा र महामन्त्री थापाले प्रस्तुत गर्नुभएको पार्टीको आगामी एक वर्षको कार्य योजनामाथि छलफल भइरहेको छ ।