काठमाडौं,३१ असार । नेपाल वायुसेवा निगमका दुईवटा न्यारोबडी विमान ग्राउन्डेड भएका छन् । निगमको चरम व्यवस्थापकीय लापर्वाहीका कारण एकैसाथ दईवटा विमान ग्राउन्डेड भएका हुन ।
निगमसँग भएका नाइन नोभेम्बर–अल्फा किलो व्हिस्की (नेपाली नाम सगरमाथा) र नाइन नोभेम्बर–अल्फा किलो एक्सरे (नेपाली नाम लुम्बिनी) भएका दुबै विमान समयमै निगमले मर्मतसम्भार नगर्दा ग्राउन्डेड भएका हुन् । लुम्बिनी नेपाली नाम भएको जहाज आज बिहान दुबईबाट काठमाडौं फर्केपछि उडाउन नमिल्ने भन्दै निगमको इन्जिनियरीङ विभागले प्राविधिक कारण देखाएपछि ग्राउन्डेड भएको हो । सगरमाथा नाम दिइएको अर्को न्यारोबडी ६ दिनदेखि ग्राउन्डेड छ ।
मंगलबार बैंग्लोरबाट फर्केपछि नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि उक्त विमान उडाइएको छैन । ‘जापानबाहेक दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुबई, साउदी अरब (रियाद), बैंकक, हङकङ र मलेसियाको उडान प्रभावित भएका छन् । यसअघि ६ दिनदेखि ग्राउन्डेड गरिएको सगरमाथा नाम दिइएको न्यारोबडीमा जेठ २७ गते दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको थियो ।
उक्त विमानलाई त्यहाँ सामान्य मर्मत गरेर अर्को दिन नेपाल ल्याइयो । चरा ठोक्किएकै इन्जिनमा फेरि समस्या देखिएपछि असार १४ गते भारतको हैदरबादमा रहेको एयर वोर्कस इन्जिनियरीङको ह्यांगरमा पठाइएको थियो । उक्त विमानमा पुनः समस्या देखिएपछि एयर वोर्कस इन्जिनियरीङकै प्राविधिकहरुलाई निगमले काठमाडौं झिकाएर जहाज मर्मत गराइरहेको छ ।