एजेन्सी । गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले युद्धमा पहिलोपटक इजरायल र हमासका प्रतिनिधिहरूले एउटै भवनमा अप्रत्यक्ष वार्ता गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । हमासले पनि इजरायली सेनाले स्ट्रिप छाड्ने विषयको आफ्नो सर्त त्यागेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा सम्झौता सफल हुने क्रममा रहेको बताएका छन् । एक इजरायली अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई पनि बढीमा केही घण्टा वा दिनमा सम्झौता हुने बताएका छन् । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता नभएको खण्डमा स्थिति भयावह हुने धम्की दिएसँगै वार्ता टुंगोमा पुग्न लागेको समाचार सार्वजनिक भएको हो ।
बाइडेनले आइतवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेका थिए । त्यस्तै, उनले सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल-थानीसँग कुरा गरेका थिए । प्यालेस्टिनी अधिकारीहरूका अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार एउटै भवनमा ६ घण्टा अप्रत्यक्ष वार्ता गरेका थिए ।