काठमाडौं । महालक्ष्मी विकास बैंकले वीरगन्जको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयका छात्र छात्रवृत्ति प्रदान गरेको छ । कक्षा नौ मा अध्ययनरत छात्र राजवंशीलाई हिरा गिरी जेहेनदार छात्रवृत्ति प्रदान गरिएको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व। हिरा गिरीको स्मृतिमा यो छात्रवृत्ति स्थापना भएको बताएको छ ।
बैंकका सञ्चालक श्यामसुन्दर रुंगटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई छात्रवृत्ति हस्तान्तरण गरेको बताएको छ । अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका जेहेनदार विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार रुपैयाँको उक्त छात्रवृत्ति उपलब्ध गराएको बैंकले बताएको छ ।
बैंकका सञ्चालक रुंगटाले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए । विद्यालय व्यवस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरेका थिए ।