काठमाडौं, श्रावण १५ । चामल निर्यातमा भारतले रोक लगाउने निर्णयपछि नेपाली उपभोक्तालाई सहुलियत मूल्यमा चामलको उपलब्धता हुने सुनिश्चित गर्न मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातहतका निकायलाई निर्देशन दिएका छन् । भारतले ४ साउनदेखि लागू हुने गरी चामल निर्यातमा रोक लगाएलगत्तै ५ साउनमा उनले केन्द्रीय अनुगमन समितिको बैठक डाकेका थिए ।
आइतबार दोस्रोपटक सोही विषयमा मुख्यसचिव अध्यक्ष रहने समितिको बैठक राख्दै अर्यालले चामलको उपलब्धता सन्तोषजनक अवस्थामा नै रहेको भन्दै कृत्रिम अभाव र मूल्यवृद्धिबाट जोगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
बैठकमा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोगका विषयमा समेत छलफल भएको थियो । बैठकमा सहभागी कृषिसचिव डा। गोविन्दप्रसाद शर्माका अनुसार भारतले निर्यातमा रोक लगाए पनि चामलको अभाव नहुने जानकारी गराएको बताए । त्यस्तै, सरकारी तथा निजी क्षेत्रका गोदाममा खाद्यान्न भण्डारण गर्न मुख्यसचिव अर्यालले दिएको निर्देशन चाँडै कार्यान्वयन गर्ने पनि बताएका छन् । बैठकमा मुख्यसचिव अर्याललाई मुलुकभर तीन महिनाको माग धान्ने चामल भण्डारणमा रहेको जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले गराएका थिए ।
लगत्तै कात्तिकमा नयाँ चामल बजारमा आइसक्ने हुँदा मागअनुसार आपूर्ति गर्न कुनै समस्या नहुने निष्कर्ष बैठकमा निकालिएको थियो । ५ साउनमा समितिको बैठक बसेर चामलको आयात, भण्डारण र आपूर्तिको अवस्थाबारे सूचना संकलन गर्न निर्देशन दिइएको थियो । त्यसपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले उत्पादक र आयातकर्तासँग दुईपटक बैठक बसेका थिए ।
सो बैठकमा चामलको मौज्दात पर्याप्त रहेको जानकारी पाएको बताएको छन् । यद्यपि, अहिले केही व्यवसायीले चामलको मूल्य बढाउन थालेको सूचना संकलन भएकाले अनुगमनलाई तीव्रता दिइरहेको उनले बताए । यिनीहरूलाई नै परिचालन गरी अहिले चामलको मूल्य, परिमाणलगायतका बारेमा अनुगमन गरिरहेका छौँ, उनले भने । भारतले संसारभर नै चामलको निर्यातमा रोक लगाउँदा भनी उल्लेख गरेको थियो ।
यो व्यवस्थाअनुसार नेपालमा चामलको मागअनुसार आपूर्तिमा असर परे नेपालले कूटनीतिक पहलमार्फत भारतबाट चामल आयातको ढोका खुलाउन भने सक्नेछ । मुलुकभर वार्षिक ५६ लाख मेट्रिकटन धान उत्पादन भए पनि वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्नुपर्ने अवस्था छ । नेपाल चामलका लागि भारतमै निर्भर छ त्यसैले चामल निर्यातमा रोक लगाउँदा नेपाली भान्सालाई असर पर्ने देखिएको हो ।