एजेन्सी । मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ । शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते रहेको बीबीसीले उल्लेख गरेको छ ।
मोरक्कोका आन्तरिक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुन सक्ने आकलन गरिएको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसस्थित सयौं मानिस लामबद्ध भएका छन् । रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै घाइतेहरूको उपचारका लागि रगत अभाव हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् ।
भूकम्पका कारण मोरक्कोमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै थुप्रै देशका प्रमुखहरूले समवेदना प्रकट गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै मोरक्कोले व्यहोर्नुपरेको पीडाप्रति युक्रेनले समवेदना प्रकट गरेको जेलेन्स्कीले जनाएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले मोरक्कोलाई सहयोगको घोषणा गरेका छन् । उनले सहयोगका लागि आफूहरू तयार रहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मोरक्कोको भूकम्पप्रति दुःख र समवेदना व्यक्त गर्दै सहयोग उपलब्ध गराउने बताएका छन् । ‘मोरक्कोमा भूकम्पबाट भएको जनधनको क्षति र विनाशबाट मलाई गहिरो दुःख लागेको छ । त्यहाँ आवश्यक सहयता उपलब्ध गराउन अमेरिका तयार छ,’ बाइडेनले उल्लेख गरेका छन् । यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि मोरक्कोलाई समवेदना सन्देश पठाएका छन् । यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले मोरक्कोमा २४ देखि ४८ घण्टाको अवधिमा आपत्कालीन उद्धार टोली खटाउन सकिने जनाएको छ ।
यसैबीच मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा भने नभएको सरकारले जनाएको छ । भूकम्पपछि दर्जनौं परकम्पहरू गए पनि त्यसले सुनामी निम्त्याउने प्रक्षेपण गरिएको छैन । ती परकम्पहरूले पहिलो भूकम्पभन्दा सानो धक्का दिइरहेका छन् । मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पले ठूलो क्षति पु¥याएका थिए । २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।