Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक लाख बढी गाईभैँसीलाई लम्पीस्किन रोगविरुद्धको खोप


एक लाख बढी गाईभैँसीलाई लम्पीस्किन रोगविरुद्धको खोप

गण्डकी । गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।
यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि रु एक करोड बजेट छुट्याएको थियो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

महाशाखा प्रमुख डा न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको सङ्क्रमण देखिएको छ । रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । त्यस्तै, ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।
महाशाखा प्रमुख डा न्यौपानेले मनाङ र मुस्ताङ जिल्लामा भने उक्त रोग नियन्त्रणमा आएको बताए । प्रदेशका बाँकी नौ जिल्लामा पनि सङ्क्रमणदर घट्दै गएको उनको भनाइ छ ।