काठमाडौं । प्रहरीको झोलाभित्र रहेको मोबाइल नै चोरी भएको छ । प्रहरी जवान सुरज कुँवरले झोलाभित्र हालेको मोबाइल नै चोरी भएको हो ।
चोरी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ समेत गरेको छ । ज्यान मुद्दामा प्रतिवादीबाट बरामद भएको मोबाइल परीक्षणको लागि रोल्पाबाट काठमाडौं प्रहरीले पठाएको थियो । प्रहरी प्रधान कार्यालयको अनुसन्धान विभाग अन्तर्गत पर्ने ल्याबमा परीक्षण गरेपछि बुझ्न जवान कुँवर पुगेका थिए। उनले मोबाइल बोकेर आफ्नो झोलामा राखेका थिए ।
मोबाइल लिएर फर्किने क्रममा गत असार १२ गते कामको लागि भन्दै उनी गृह मन्त्रालय जानु पर्ने थियो । त्यसैले उनले आफूले बोकेको झोला बसपार्कमा रहेको एक गेस्टहाउसमा राखेका थिए। तर त्यहाँ काम गर्ने अमृत योगीले मोबाइल चोरी गरेर फरार भएको खुलेको थियो । त्यसपछि प्रहरी जवानले प्रहरीमै उजुरी दिएका थिए ।
योगीले साहुसँग बिदा र काम गरेको पैसा मागेका थिए। तर नदिएपछि उनले प्रहरी जवानले राख्न दिएको झोलाबाट मोबाइल झिकेर घर गएको बयान दिएका छन् ।