काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि यातायात मजदुर तथा व्यवसायीहरुले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसमक्ष १६ बुँदे साझा प्रस्ताव प्रस्तुत गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई पेश गरिएको प्रस्तावमा पिक एन्ड ड्रप तथा पार्किङको पुनर्व्यवस्थापन गर्ने, ट्राफिक संकेत तथा चिन्हहरु व्यवस्थापन, ट्राफिक प्रहरी र मजदुरहरुको कार्यशैली र बोली व्यवहारमा सुधारका लागि अभियान सञ्चालन गर्ने उल्लेख छन् ।
यातायात मजदुर व्यवसायीहरुको तर्फबाट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्ताव प्रस्तुतपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले ट्राफिक, यातायात मजदुर व्यवसायीबीचको सहकार्य र साझा कार्यक्रमले मात्रै ट्राफिक व्यवस्थापन हुने बताए ।