काठमाडौं । नेपालमा वित्तीय पहुँच बढेको छ । आर्थिक वर्ष २०८१\८२ को आर्थिक सर्वेक्षण अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । उक्त सर्वेक्षण अनुसार वित्तीय पहुँच बढेको छ । सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ ।
२०८१ फागुन मसान्तमा बैंक ५ तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ।
जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् ।
विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ। हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। कुल जडित विद्युत् क्षमता ३,६०२ मेगावाट पुगेको छ।
सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ। इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।