काठमाडौं । पछिल्लो समय बैंकको ऋण नर्तिनेको संख्या बढ्दो छ । हिजो आज दैनिक पत्रिकामा ऋण नतिरेका ऋणीको विवरण सार्वजनिक गर्ने क्रम बढेको छ । हिमालयन बैंकबाट ऋण लिएका २५ ऋणीले ऋण नतिरेको विवरण सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड होल्डरको नाममा जारी बाँकी बक्यौता रकम चुक्ता गर्नका लागि ऋणीहरूको नाम नै सार्वजनिक गरिएको छ ।
क्रेडिट कार्ड होल्डरहरुले क्रेडिट कार्ड उपयोग गरेबापत बैंकलाई समयमा तिर्नु पर्ने साँवा तथा ब्याज तिर्नका लागि उनीहरूलाई बैंकले पटक पटक लिखित वा मौखिक ताकेता गरेपनि सम्पर्कमा नआएको बैंकले जनाएको छ । क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको बैंकले नाम सार्वजनिक गरेको हो ।
तीनपुस्ते विवरणसहित सार्वजनिक गरिएको त्यस्ता ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न बैंकले भनेको छ । उक्त अवधिमा ऋण बुझाउन नआएमा कालोसूचीमा सूचीकृत गरि अदालतमा मुद्दा दायर गरि असुल गरिने बैंकले जनाएको छ । यो समस्या हिमालयन बैंकको मात्रै होइन । विभिन्न बैंकहरुले यस्ता सूचना दिनहुँ सार्वजनिक गर्ने गरेका छन् ।