काठमाडौं । अमेरिकाले भारतीय वायु सेनाका लागि लडाकु जेटको इन्जिन भारतमै बनाउने लागाउने भएको छ । अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको हो, जसलाई सैन्य क्षेत्रमा दुई देशबीचको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जारी अमेरिका भ्रमणका क्रममा यस्तो सहमति भएको हो । अमेरिकाको जनरल इलेक्ट्रिक जीई र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको सहमतिपछि दुई कम्पनीबीच सम्झौता भएको हो । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् । मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा छन् । पहिलो दिन न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित अन्तर्राष्ट्रिय योग दिवस समारोहमा मोदी सहभागी भएका थिए । त्यसपछि वासिङ्टन पुगेका मोदीलाई ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गरेका छन् ।
बाइडेन दम्पतीले दिएको रात्रिभोजमा मोदी सहभागी भएका थिए । ९ वर्षको आफ्नो कार्यकालमा मोदीले पहिलो पटक अमेरिकाको राजकीय भ्रमण गरेका हुन् । मोदी र बाइडेनबीच भएका सहमति र सम्झौताको साझा दस्ताबेज आउन बाँकी छ । बिहीबार राति मात्रै दुई नेताबीच औपचारिक वार्ता हुने तय भएको छ । दुई देशबीच हिन्द महासागर क्षेत्रकै सुरक्षा सवाल र चुनौतीहरू वार्ताको मुख्य एजेन्डा रहनेछ । विश्व शक्तिका रूपमा उदाउँदै गरेको चीनको चुनौतीलाई कम गर्न अमेरिकाले भारतको साथ खोजेको छ ।
त्यस्तै, आफ्नो सैन्य शक्तिलाई बढाउन भारतले पनि अमेरिकाको साथ खोजिरहेको छ । भारत सुरक्षा क्षेत्रमा अमेरिकाको अत्याधुनिक प्रविधिहरू प्राप्तिका लागि प्रयासरत छ । दुई देशबीच स्वास्थ्य, प्रविधि, नवीकरणीय ऊर्जा, शिक्षा र रक्षा क्षेत्रका सम्बन्धमा सहकार्य हुने बताएको छ । रुस र युक्रेनबीच युद्ध चर्किएयता अमेरिका र पश्चिमा मुलुकहरूले रुसमाथि विभिन्नखाले प्रतिबन्ध लगाएका छन् । तर, सैन्य सामग्रीमाथिको निर्भरताले भारत रुससँग टाढिन सकेको छैन ।
बरु, रुससँगको व्यापार झनै बढाएको छ । अमेरिकाले रुसमाथि भारतको निर्भरतालाई कम गराउन सैन्य क्षेत्रमा सहकार्यको हात बढाएको हो । अमेरिकाले भारतको अहमदाबाद र बेंगलरुमा आफ्नो कन्सुलेट कार्यालय खोल्ने सहमति भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ । अमेरिकामा मोदीले त्यहाँका प्रतिष्ठित विभिन्न कम्पनीका प्रमुख तथा सीईओहरूसँग पनि भेटघाट गरेका छन् । मोदीसँगको भेटमा एलन मस्कले टेस्ला गाडीको उद्योग भारतमा खोल्ने बताएको छ ।